कांग्रेस महासमिति बैठक आज समापन हुँदै


काठमाडौं । नेपाली कांग्रेसको नौ दिनयता जारी महासमिति बैठक आइतबार समापन हुँदैछ । बैठकले मुलत विधानमा व्यापक छलफल गरी अनुमोदन गर्ने एजेण्डा भएपनि बैठकमा संशोधित विधान पेश गर्न नै ढिला भएपछि महासमिति बैठक औपचारिकता पूरा गर्दै समापन हुन लागेको हो ।

केही महासमिति सदस्यहरुले विधानमाथि धारणा राखेपछि आइतबार नै बैठक समापन गर्ने तयारी भइरहेको कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
महासमिति सदस्यहरुले धारणा राखेपछि सभापति र वरिष्ठ नेताले सम्बोधन गरेर बैठक समापन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसको महासमिति बैठकमा सदस्यहरुले महामन्त्री पुर्ण बहादुर खड्काद्वारा पेश भएको विधान मस्यौदामाथि धारणा राख्ने क्रम जारी छ ।

यसअघि पुस ३ गते नै बैठक सक्ने कार्यतालिका सार्वजनिक भएपनि बैठकमा ढिलो गरी विधान पेश भएपछि महासमिति बैठक लम्बिएको हो ।
शनिबार विधान पेश भएपछि त्यसैमा केन्द्रीत रहेर छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शनिबारको बैठकमा विधानमाथि छलफलमा सहभागि अधिकांश जिल्ला सभापतिहरुले काँग्रेसका कुनैपनि तहका नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्ने माग राखेका थिए ।

गत शुक्रबार कांग्रेसका शीर्ष नेताहरुबीच नयाँ विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ तथा कोषाध्यक्ष १ गरी १४ जना पदाधिकारी राख्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?