मनाङ बन्यो लिग च्याम्पियन


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ । लिगको २ खेल बाँकी छदै मनाङ आठौं पटक च्याम्पियन बनेको हो ।

बिहीबारको खेलमा मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मनाङले खेलमा अग्रता लिएको थियो ।

मनाङका विशाल राईको कर्नरलाई रोक्ने क्रममा संकटाका गोलकिपर राजाबाबु थापाको हातबाट बल खुस्किएर गोलमा परिणत भयो ।
८२ मिनेटमा मनाङले अग्रता दोब्बर पारेको थियो । विशाल राईको कर्नर बलमा पुजन उपरकोटीले हेडमार्फत गोल गरे । एक मिनेटअघि पुजन सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

८७ मिनेटमा मनाङले तेस्रो गोल गर्यो । एडिलेजाले मनाङका लागि तेस्रो गोल गरेका थिए । यसपटक पनि उनलाई गोल गर्न विशाल राई नै पास उपलब्ध गराएका थिए ।

खेलको अन्तिम मिनेटमा संकटाका सेड्रिक अबाले गोल फर्काएका थिए । तर त्यतिबेलासम्म संकटालाई खेलमा फर्कन ढिला भइसकेको थियो ।
मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंक जोडेको छ । दोस्रो स्थानको संकटाको २५ अंक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।

मनाङले यसअघि २०४३, ४४, ४६, २०५७, २०६० र २०६२ तथा २०७१ सालमा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?