पाँच देशमा राजदूत नियुक्तिको सिफारिस


काठमाडौं । सरकारले फ्रान्ससहित पाँच देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठक यस्तो निर्णय गरेको जानकारी गराए ।

सरकारले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि नेपाली राजदूत र सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सिफारिस गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुषाल, दक्षिण कोरिया नेपाली राजदूत अर्जुनजंगबहादुर सिंह र स्पेनका लागि नेपाली भरतबहादुर रायमाझीलाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

उनका अनुसार तीनै जना राजदूतलाई नेपाल फर्किन तीन साताको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?