टिपरको ठक्करले काठमाडौं बालाजुमा एक जनाको मृत्यु, दुई घाइते


काठमाडौं । काठमाडौं बालाजुस्थित चोकमा शुक्रबार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मुड्खु भज्याङबाट माटो बोकेर एयरपोर्टतर्फ आउँदै गरेको ना ७ ख ७००५ नम्बरको टिपरको ठक्करबाट बालाजुचोकमा ठेलागाडामा चिया बेच्दै आएका एक व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ धुनिबेशीका ५८ वर्षीय दलबहादुर विशंखे रहेका छन् । घाइते विशंखेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते उनकी श्रीमति ५७ वर्षिया सान्नानी विशंखे र नुवाकोटका प्रज्ञारत्न लामाको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

बिहान साढे पाँच बजे अनियन्त्रित रुपमा आएको टिपरले बा२ज ४३५ र बा२ज १५५१ नम्बरको ट्याक्सीलाई ठक्कर दिएपछि बिशंखेले चिया बेच्दै आएको ठेलागाडामा ठक्कर दिएर पल्टिएको थियो ।

सोही क्रममा ठेलागाडासहित अन्य दुई ट्याक्सीमा समेत क्षति पुगेको छ ।
दुर्घटनाको समयमा चिया खान ठेला नजिकै रोकिएका ट्याक्सी चालकले भागेर ज्यान जोगाएका छन् । प्रहरीले टिपर चालक सल्यानका अमरसिंह विष्टलाई नियन्त्रणका लिएको छ ।
उनलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?