नेकपा बैठक : अध्यक्ष ओलीको तीन घन्टे अभिव्यक्ति


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै तीन घन्टा लामो अभिव्यक्ति दिएका छन् ।

अध्यक्ष शर्माले सरकारले गरेका कामको व्याख्या गरे । वाइडबडी विमान खरीद प्रकरणदेखि निर्मला पन्तको हत्यासम्मका विषयमा सरकारको चर्को आलोचना भइरहेका बेला ओलीले सरकारको बचाउ गरेका हुन् ।

अध्यक्ष ओलीले सम्बोधनका क्रममा विभिन्न विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । वाइड बड़ी खरिद प्रक्रियामा भएको अनियमितता बारे जाँचबुझ गर्न छानबिन टोली बनाउने प्रधानमन्त्री ओलीले स्थायी समितिमा बताए । बैठकमा पार्टीको एकीकरणका विषयमा कुरा गर्दै ओलीले पुस महिनाभित्र एकीकरण सक्न कार्यदल बनाउने प्रस्ताव गरेका छन् ।

उनले पार्टी एकीकरण ढिलो भएपनि पुसभित्र एकीकरण सक्न प्रस्ताव गरे । यसका साथै सरकार र पार्टीका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्ने बताइएको छ।

अध्यक्ष ओलीले पार्टी र सरकारले सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई कुनै पनि हालतमा नछोड्ने र त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए । माघमा तल्लो कमिटीको भेला गर्ने र फागुन चैतमा राष्ट्रिय अभियान सञ्चालन गर्ने ओलीको प्रस्ताव छ ।

कार्यदलको छलफल गर्न अर्को बैठक शुक्रबार बिहान पुनः बस्ने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?