राष्ट्रिय एकता दिवस मनाइ‌ने


काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) ले राष्ट्रिय एकता दिवस अर्थात पृश्वी नारायण शाहको जन्म जयन्ती विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ ।

बिहीबार पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा सम्पन्न उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन लागेको हो ।

बैठकले गत महिना सरकारको संलग्नता र सहभागितामा काठमाडौंमा भएको एशिया प्यासिफिक समिट (क्रिश्चियन धर्म सम्मेलन) प्रति राप्रपा (प्रजातान्त्रिक) पूर्ण असहमत रहेको जनाएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘शदीयौं देखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै रहेको तथा सनातन हिन्दु राष्ट्र रही आएको र हिन्दुत्वको छहारीमा विविध धर्म संस्कृतिले समान तथा सम्मानजनक संरक्षण एवं स्थान पाई आएको नेपाललाई जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फसाउने वाह्य शक्तिहरुको दिर्घकालिन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको देखिनु घोर चिन्ता र निन्दाको विषय हो ।’

बैठकले राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे, तथा महामन्त्री सुनिल बहादुर थापाबारे विभिन्न संचारमाध्यममा अत्यन्त कपोलकल्पित र भ्रामक समाचार संप्रेषण भएको भन्दै समाचारको खण्डन समेत गरेको छ ।

उच्चस्तरीय कार्य सम्पादन समितिको अर्को बैठक पौष १५ गतेबजे बस्ने प्रवक्ता राजेन्द्र गुरुङले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?