नेकपा बैठक : अध्यक्षद्वयको प्रतिवेदन पारित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन शुक्रबारको बैठकमा पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

गत मंसीर २९ गतेबाट शुरु भएको बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

उक्त आलोचनाको विषयलाई समेट्ने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
यसैबीच शुक्रबारको बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा पौडेलसहित रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुबीर महासेठ, बेदुराम भुषाल, वर्षमान पुन र लेखराज भट्ट रहेका छन् । कार्यदलले पार्टी संगठनको एकताबारे गृहकार्य गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?