वैदेशिक रोजगारको प्रलोभनमा भारत पु-याइएका ९ महिलाको उद्वार


काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी भारतमा पु-याइएका ९ नेपाली महिलाको उद्वार गरिएको छ ।

कुवेत, दुवई र साउदी लगायत अन्य खाडी मुलुक पु-याइदिने भन्दै सात महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा राखिएका महिलालाई उद्धार गरी स्वदेश ल्याइएको हो ।

दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा गत मंगलबार उद्वार गरीएको थियो भने आवश्यक कानूनी प्रक्रिया पुरा गरी बुधबार स्वदेशफिर्ती पश्चात परिवारमा पुनर्मिलन गराइएको छ ।

नेपालको सुनौली तथा काकरभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको र भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखि सात महिनासम्म आफू लगायतलाई बन्धक बनाई राखेको र ९ मध्ये ७ जनालाई कुवेत १ जनालाई दुवई र १ जनालाई साउदीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी लगिएको पीडीतहरुले बताएका छन् ।

के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नविन जोशीका अनुसार विभिन्न ७ जिल्लाबाट फरक–फरक व्यक्तिहरुसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीको लागि भारत पुगेका उनीहरुले धन कमाउने, परिवारको आर्थिक अवस्थामा सुधार ल्याई भविष्यलाई उज्वल बनाउने सपना देखेर भारत पुगेका थिए ।

के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई मानव बेचविखनको बदलिदो स्वरुपसंगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवम् कठिनपुर्ण हुँदै गइरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?