अटोमेटिक पेस्तोलसहित चार नियन्त्रणमा


काठमाडौं । एपीएफ ईन्टेलिजेन्स ब्यूरोको विशेष टोलीले भक्तपुरको सल्लाघारीबाट गोली लोड अवस्थाको इटालियन अटोमेटिक पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट जिल्ला तिलागुफा नगरपालिका १ बस्ने २५ वर्षिय मोतिलाल शाही, सोही नगरपालिका ३ बस्ने २१ वर्षिय बलदिप शाही, कालिकोट जिल्ला मैबी गाउँपालिका ६ बस्ने १८ वर्षिय जागेश शाही र मुगु जिल्लाको खत्ने गाउँपालिका २ बस्ने २२ वर्षिय भीमप्रसाद दाहाल छन् ।

उनीहरु केही अवधिदेखि भक्तपुरको सल्लाघारीमा बस्दै आएको बताइएको छ । शनिबार दिउँसो उनीहरुलाई सो ब्यूरोको विशेष टोलीले सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एउटा इटालियन अटोमेटिक पेस्तोल तथा ९ एम.एम. को पाँच राउण्ड गोली र एउटा म्याग्जिन बरामद भएको छ । सो पेस्तोलमा पाँचवटै गोली लोडेड अवस्थामा रहेको थियो ।

उनीहरु अपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरुको साथमा अवैध पेस्तोल रहेको भन्ने जानकारी पाएपछि खटिएको सो ब्यूरोको विशेष टोलीले उनीहरुलाई हतियारसहितै पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई बरामद पेस्तोल तथा गोली र म्याग्जिनसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?