रेशम चौधरीले लिए शपथ


काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले बिहीबार सपथ लिएका छन् ।

उनी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन् । सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्ष सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । उनले थारु भाषामा सपथ लिए । उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिएका थिए ।

सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरुको समेत उपस्थिति थियो । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर विजयी भएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो । उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए ।
टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो ।

चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । उनी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।
सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?