नेपाली कांग्रेस लमजुङका पुराना नेता कोइरालाको निधन


लमजुङ । नेपाली कांग्रेस लमजुङका पुराना नेता तारानाथ कोइरालाको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको परिवारले बताएको छ ।

विसं २०३६ सालमा स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बीपी कोइरालालाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागेर तारा कोइराला गम्भीर घाइते भएका थिए । उक्त गोली काण्डपछि उनको एउटा खुट्टा काट्नु परेको थियो ।

यसैबीच, कोइरालाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा र्पुयाएको सक्रिय योगदान कांग्रेसको इतिहासमा सदैव स्मरणीय रहने उल्लेख गरेका छन् । उनको निधनबाट पार्टीेले एक कुशल व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन् ।

‘कांग्रेसका क्रियाशील व्यक्तित्व एवं मेरा मित्र तारा कोइरालाको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. २०१७ सालपछि नेपाली कांग्रेस लमजुङको संस्थापक सभापति रहेका कोइरालाले नेविसंघ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपांग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपालमा लोकतन्त्र वहालीको संघर्षका क्रममा उनले करीब २ वर्ष जेल जीवन बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?