प्रश्न गर्ने व्यवस्था नगरे संसद अवरुद्ध पार्ने कांग्रेसकाे चेतावनी


काठमाडौं । संसदमा प्रश्न गर्ने व्यवस्था नगरे बुधबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका वक्तव्यप्रति सांसदहरुले प्रश्न गर्न नपाएको भन्दै सांसदहरुले संसद अवरोध गरेका थिए ।

बैठकमा प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले बञ्चित गराएको निष्कर्ष निकाल्दै बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरेको हो ।

संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

संसद सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न पनि सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गर्नुपर्ने कांग्रेसको भनाई छ ।

यस्तै मंगलबारको बैठकले सरकारले ल्याउने विधेयकमा कडा निगरानी राख्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । सम्बन्धित पक्षसँग छलफल समेत नगरी सरकारले विधेयक ल्याउने गरेको निष्कर्ष निकाल्दै सो सम्बन्धमा गहन अध्ययन गरेर प्रस्तुत हुन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिइएको कांग्रेसले बताएको छ ।

बैठकले कांग्रेस संसदीय दलको बैठकमा पार्टीको तर्फबाट सरकारको काम कार्वाहीलाई निगरानी राख्न विज्ञहरुसहितको विभिन्न समिति बनाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?