नेविसंघको वर्तमान कार्यसमिति माघ १० गतेसम्म यथावत रहने


काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राखिने भएको छ ।

बुधबार रातिबाट केन्द्रीय कार्यसमिति स्वतः विघटन हुन भए पनि कांग्रेसले नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम हुने गरी हालका लागि नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखिएको जानकारी दिए ।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’

गत भदौ २ गते २ वर्षिय कार्यकाल समाप्त भएपछि विधानतह नेविसंघको कार्यकाल ३ महिना थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो ।

आफ्नै नेतृत्वमा १२ औँ महाधिवेशन हुने दाबी गर्दै आएका नेविसंघका अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीन पटक निर्णय गराएर महाधिवेशनको मिति तोके पनि हुन सकेको भने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?