पूर्वमन्त्री पाण्डे ४ करोड रुपैयाँ धरौटीमा छुटे


काठमाडौं । पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् ।  विशेष अदातलले कालिका कन्ट्रक्सनका मालिक पाण्डेसँग धरौटी माग गरेको थियो ।

पाण्डेले बुधबार अदातल हाजिर भएर ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएकोे विशेष अदालतले जनाएको छ ।

सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपाका नेता पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मंसिर २१ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै अदालत हाजिर भएका हुन् ।

बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गरेको हो ।

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पूर्वमन्त्री पाण्डेसहित तत्कालीन आयोजना प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सिडिई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको थियो ।
सिँचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सिडिई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

पूर्वमन्त्री पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको थियो ।
मुद्दामा पूर्व आयोजना प्रमुखहरूमध्ये सरोजचन्द्र पण्डितसँग ५९ करोड ३४ लाख ५२ हजार ५ सय ९४ रुपैयाँ, दिलिप बहादुर कार्कीसँग १ अरब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९ र रमेश बस्नेतसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० बिगो दाबी गरिएको थियो ।

सिक्टा सिँचाई आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरीय काम हुन नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?