प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिकास्थित चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् ।

साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।

शिलान्यासमा प्रधानमन्त्री ओलीले बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताए ।

दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देश तिव्र विकाको गतिम अघि बढ्ने बताउँदै सरकारका एक वबर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए ।

संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ’ प्रधानमन्त्री ओलीले भने ।

बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ । यातायातले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ । स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस । सरकारले सकारात्मक ढंगले लिनेछ ।’

प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे ।
‘तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस् । गुणस्तरमा सम्झौता नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भने । बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।

यसैबीच सुख्खा बन्दरगाहको विरोधमा स्थानीयले बिहीबार प्रदर्शन गरेका छन् ।
पहिले हिमाल सिमेन्ट रहेको स्थानमा सुख्खा बन्दरगाह निर्माण उपयुक्त नहुने भन्दै स्थानीयले असन्तुष्ट जनाउँदै विरोध गरेका हुन् ।

स्थानीयले सिमेन्ट कारखानाले पु¥याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले शिलन्यास गर्न लागेको कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै ३० भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?