गुण्डागर्दीलाई जरैदेखि फाल्न महानिरीक्षक खनालकाे निर्देशन


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको एउटै मात्र उद्देश्य समुदायसँग मिलेर अपराध न्यूनीकरण तथा शान्ति, सुरक्षा र अमनचैन कायम गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग गर्नु रहेको बताएका छन् ।

प्रहरी परिसर काठमाडौंले स्थापना गरेको ‘नागरिक सहायता कक्ष’ को उद्घाटन गर्दै उनले त्यसका लागि अधिकांश स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी समितिहरू स्थापना भइसकेको भन्दै गुण्डागर्दीलाई जरैदेखि फाल्न निर्देशन दिए ।

उनले यस्ता गतिविधि समाजमा देखिए खबर गर्न समुदायलाई आग्रह समेत गरे ।

महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शान्ति र भयरहित समाज निर्माणले मात्रै समृद्ध नेपाल बन्नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले सेवाग्राहीलाई अन्योल नहोस् भनेर अस्थायी कार्यालयमा नै सहायता कक्ष स्थापना गरिएको बताउँदै काठमाडौंको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।

सामुदायिक सेवा केन्द्रका प्रतिनिधि अच्यूत सापकोटाले प्रहरीसँगको साझेदारीले नागरिकलाई शान्ति सुरक्षाको महसुस भएकोमा जोड दिए । भवन निर्माणका लागि नेपाल बंगलादेश बैंकले सहयोग गरेको जनाइएको छ ।

यस्तै काठमाडौं महानगरपालिका, विश्वास नेपाल र संरक्षक समुहबाट फर्निचर र टेलिभिजन उपलब्ध भएको परिसरका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

सहायता कक्षबाट सचेतनामूलक श्रव्यदृष्य सामाग्री प्रसारणका साथै चेतनामूलक कार्यक्रम तथा नागरिकका गुनासाहरूको सुनुवाइ गरिने पोखरेलले बताए ।

नागरिकका गुनासो सुन्न झण्डै १९ लाख ५० हजार रुपैयाँको लागतमा सो कक्षको निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?