कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ ।

गरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएका अस्पताल खारेज गर्न लागेको भन्दै बैठक अवरुद्ध गरिएको हो ।

कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन सञ्चालन हुन नसक्ने बताएको हो ।

सोमबारको बैठकमा राष्टियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक शुरु भएको जानकारी गराउनासाथ कांग्रेसका सांसदहरुले सदनको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईंले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाइन् ।

सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले दुई अस्पतालको बारेमा खारेज हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराए ।

तर कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहेका थिए ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डे पाण्डेले स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो । ९ वटाको भयो २ वटाको बारेमा किन निर्णय भएन ? भन्दै प्रश्न गरेका थिए ।

अध्यक्षले आसन ग्रहणका लागि पटक पटकको आग्रह पछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?