कांग्रेसको लगातारको अवरोधपछि संसद बैठक शुक्रबार सम्मका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।  बैठकमा सत्तापक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।

सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसदहरुले वेल घेराउ गरेकै समयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए ।

तर वेलमा पुगेका शिक्षामन्त्री पोखरेललाई रोक्न खोज्दा कांग्रेस र नेकपाका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।
मन्त्री पोखरेल नेकपाका सांसद देव गुरुङ र खगराज अधिकारीसँगै रोष्ट्रमतर्फ अघि बढेपछि कांग्रेस सांसदहरु आक्रोशित भएका थिए ।

१५ मिनेटका लागि स्थगित गरिएको दोस्रो बैठकपछि ११ गते शुक्रबारसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा अर्को बैठक शुक्रबार १ बजे बस्ने उल्लेख छ ।
कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल प्रदेश अन्तर्गत लगेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

यसअघि सोमबारको बैठक पनि दुई पटकसम्म कांग्रेसले अवरोध गरेपछि मंगलबारको लागि बैठक सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?