चिकित्सा शिक्षा विधेयक पारित गर्न दिन सभामुख महराको आग्रह


काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक प्रक्रियामा जान दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै उनले एकपटक प्रक्रियामा गइसकेको विधेयक अगाडि बढाउनु संसदको काम भएको बताए ।

सभामुख महराले कांग्रेसका नेताहरुका नामका अस्पताल र चिकित्सा शिक्षा विधेयक फरक विषय भएकाले प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्न आवश्यक नरहेको समेत बताए ।

उनले भने, ‘चिकित्सा शिक्षा विधेयक र कांग्रेसका नेताका नामका अस्पताल केन्द्र सरकार मातहत राख्ने विषय फरक–फरक हुन् । त्यसैले कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्न नदिन संसद अवरुद्ध गर्नु आवश्यक छैन ।’

महराले सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेकाले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्न आफूले प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?