मुस्ताङमा हिमपात : सञ्चार र यातयात अवरुद्ध


मुस्ताङ । मुस्ताङमा पुनः हिमपात भएको छ । हिमपातले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात र सञ्चार सेवा समेत प्रभावित भएको हो ।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ ।

लोमानथाङ गाउपालिका, लो घेकर दामोदरकुन्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए ।

जोमसोम विमानस्थलमा एक फिट हिउँ जमेको कारण अवरुद्ध भएको छ । भारी हिमपातका कारण हवाई उडान बन्द भएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख भानु कौरलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?