जीप दुर्घटनामा गम्भीर घाइते प्रजिअ भट्टराईलाई काठमाडौं ल्याइयो


काठमाडौं । जीप दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं ल्याइएको हो ।

शनिबार साँझ बा. १ झ. १६३३ नम्बरको स्कार्पियो जीपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा प्रजिअको जीपमा सवार प्रहरी हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?