२ हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा


काठमाडौं । सरकारले २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।

शहीद घोषणा हुनेमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १ हजार चार सय ४८ नेपाल प्रहरी, १ हजार १८ जना नेपाली सेना, तीन सय १८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाका सुरक्षाकर्मीहरु रहेका छन् ।

मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २ हजार ८ सय ७ जनालाई शहीद घोषणा गर्ने निर्णय भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले भने, ‘देशका लागि ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता सोमबारको क्याबिनेटको निर्णयसँगै हटेको छ ।’

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीको सीमावर्ती जिल्लाका गणहरुको स्तरबृद्धि गर्दै बोर्डर वाउटपोस्टको संस्था बढाइने बताए ।

कार्यक्रममा पूर्वआईजीपी दुर्जकुमार राई र पूर्वएआईजी रोहित थापालाई एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?