अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु


एजेन्सी । अमेरिकामा चिसोले कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण हालसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको र करोडौं मानिस प्रभावित भएको बीबीसीले जनाएको छ ।

चिसोका कारण अमेरिकाको मध्यपश्चिमी भेग धेरै प्रभावित भएको छ । विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ ।

सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्क्टिका भन्दा पनि चिसो रहेको बताइएको छ ।

त्यहाँ रेलमार्गमा आगोले हिउँ पगालेर रेल चलाइएको छ । यो हप्ताको अन्त्यसम्ममा अमेरिकाका २ करोड मानिसले माइनस २८ वा त्यो भन्दा कम तापक्रमको महसुस गर्ने अनुमान गरिएको छ ।

अमेरिकी मौसम पूर्वानुमान केन्द्रका अनुसार केही ठाउँमा बिहीबार दिनैभरि नै हिमपात हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?