डा.केसीसँगको सम्झौता सरकारले तोड्यो: प्रवक्ता शर्मा


पोखरा: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा.गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ ।

प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताउनुभयो ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो ।

विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उहाँले राजधानी काठमाडौंमा अहिले मेडिकल कलेज आवश्यक नरहेको बताउनुभयो ।

डा.केसीका माग वर्तमान सरकारले सम्बोधन नगरे पनि बहुमत आउँदाको अवस्थामा ती मागलाई सम्बोधन गर्न काङ्ग्रेस तयार रहेको उहाँले बताउनुभयो ।

अनशन बसेको २३ दिन पुग्दै गर्दा डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको बताउँदै प्रवक्ता शर्माले डा केसीको जीवनरक्षा नगरे आन्दोलन चर्काउने चेतावनी दिनुभयो । सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उहाँले भ्रष्टाचार,

अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा काङ्ग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?