पूर्वमन्त्री न्यौपानेसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग ३१ करोड हिनामिना गरेको दाबीसहित मुद्दा दायर गरेको हो ।

समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषदको अध्यक्ष हुँदा बिना प्रतिस्पर्धा भृकुटीमण्डपको ६० रोपनी जग्गा आर्थिक लेनदेन गरेर टेकबहादुर गुरुङलाई भाडामा दिने निर्णय गरेको भन्दै अख्तियारले न्यौपानेसहित निर्णय प्रक्रियामा सहभागी परिषद्का तत्कालीन पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

न्यौपाने मन्त्री हुँदा २०६९ साल भदौ २० गते प्रतिमहिना ५ लाख ५५ हजारमा रुपैयाँमा १५ वर्षका लागि सो जग्गा भाडामा दिने निर्णय गरेका थिए । अख्तियारले त्यति रकममा भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा प्रतिमहिना प्रतिरोपनी जग्गामा ९ हजार २ सय ५० रुपैयाँ घाटा भएको भन्दै मुद्दा दायर गरेको हो ।

गुरुङले २०६० सालदेखि भृकुटीमण्डपको ६० रोपनी क्षेत्र भाडामा लिँदै आएका छन् । परिषदकै नाममा रहेको भृकुटीमण्डपकै इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार पाच सय ७१ मा दिइएको तर सँगै रहेको फनपार्कको भाडामा भने त्यसको तुलनामा निक्कै कम रहेको अख्तियारको अभियोगपत्रमा उल्लेख गरेको छ ।

आयोगले अध्यक्ष न्यौपानेका साथै परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य हरि न्यौपाने, सदस्य मोहनराज शर्मा, सदस्य मदनकुमार लाल कर्ण र परिषद्का तत्कालीन सदस्य(सचिव रविन्द्र कुमालगायतविरुद्ध मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?