भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ९२ पुग्यो


भारत । विषाक्त मदिराका कारण भारतमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने कैयौँ बिरामी परेका छन् ।

देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ । शुक्रबारदेखि नै मदिरा सेवनबाट मानिसहरु बिरामी पर्न थालेको अधिकारीहरुले बताएका छन् ।

उत्तर प्रदेश सरकारका अनुसार उत्तराखण्डमा तेह्र दिने संस्कारमा सामेल हुन गएका सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । उनीहरु सबैले त्यही रक्सी खाएको बताइएको छ ।

सहारनपुरका अधिकारीका अनुसार संस्कारमा सामेल भएर फर्केपछि उनीहरु मर्न थालेका थिए । प्रशासनको लापरबाही भएको भन्दै भारत सरकारले नागल थाना प्रभारीसहित दश प्रहरी र तीन प्रहरी निरीक्षकलाई निलम्बन गरिसकेको छ ।

शुक्रबार मध्यराति बसेको एक बैठकले सरकारका सचिव र डीजीपीले सबै जिल्लाका प्रमुखसँग भिडियो कन्फ्रेन्स गर्दै प्रदेशका सबैठाउँमा छापा मार्न आग्रह गरेको छ ।

सहरानपुर र कुशीनगरमा मर्नेहरुको संख्या बढीरहे पनि रक्सी तस्करहरुलाई पत्ता लगाउन सकेको छैन । रक्सी तस्करहरुलाई नपक्रेसम्म अवस्था झनै भयावह हुने अधिकारीहरुले बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?