आईसीसीबाट नेपाली क्रिकेट खेलाडीको तलब निकासा


काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलव आईसीसीले निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलब वापतको रकम आईसीसीले राखेपको खाता रहेको स्टान्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि नेपाली खेलाडीहरुको तलब रोकिएको थियो ।

क्यान निलम्बनमा परेसँगै प्रत्येक्षरुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।
खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले ३ पटकसम्म पहल गरेको थियो ।

सुरुमा दुई किस्तामा तलब निकासा गर्ने बताए पनि राखेपका सदस्य सचिव केशबकुमार विष्टले थप पहल गरेपछि एकमुष्ट रकम जम्मा भएको प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

तलव वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।

खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?