आगामी महाधिवेशनमा पहिलो पुस्ताका नेताले विश्राम लिनुपर्छ : नेता थापा


गोरखा । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलाई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन । सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर संगठन बनाउन लाग्नुपर्छ ।’

थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न तयार रहेको बताए ।

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उनीहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गरे ।

नेता थापाले अहिलेको कांग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?