अब भोकले कोही मर्नु पर्दैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि कोही नेपाली भोकै बस्नु र भोकले मर्नु नपर्ने बताएका छन् । बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले यो कार्यक्रम नयाँ प्रयास भएको र रोजगार चाहनेहरुलाई व्यवस्थित गर्ने तर्फ सरकार लागेको बताए ।

नेपालका समस्याहरु मध्ये बेरोजगारी एक ठूलो समस्या रहेको बताउँदै प्रधानमन्त्री ओलीले अब गरिब देशको पहिचानलाई समृद्ध देशमा, अल्पविकशित देश भन्नेलाई विकशित देशको रुपमा चिनाउनेतर्फ सरकार लागेको बताए ।

नेपाललाई दुनियाँको सूसभ्य, नैतिकवान, शान्त देश बनाउने गरी सरकारले अनेक प्रयास अघि बढाएको प्रधानमन्त्री ओलीले दाबी गरे ।  प्रधानमन्त्री ओलीले नेपालको सीमानाभित्र छिरेपछि ढुक्कको श्वास फेर्ने गरी शान्ति सुरक्षाको सु–व्यवस्था कायम गर्ने सन्दर्भमा काम भइरहेको समेत बताए ।

नेपालको सुरक्षा व्यवस्था चुस्त भैरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको सीमानाभित्र पसियो, अब सुरक्षाको चिन्ता गर्नु पर्दैन, सुनचाँदीका गहना होस् वा साना झोला नै किन नहोस् कुनै पनि सामान हराउने चिन्ता अब रहँदैन । यो नेपाल हो नेपालमा सानोभन्दा सानो सामान होस् वा जिउ ज्यान सबैको सुरक्षाको प्रत्याभूत छ भन्ने सन्देश फैलाउन त्यस्तै काम गर्नु जरुरी छ ।’

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मरुभूमिलाई हरियालीमा बदल्ने नेपाली युवाहरुको पौरखी हात मातृभूमिको विकासमा उपयोग हुनेमा विश्वास व्यक्त गरे ।

बिनाकाम सबै बेरोजगारलाई भत्ता बाँड्न नहुने बताउँदै सरकार, निजी र सहकारीको सहकार्यमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने पनि मन्त्री विष्टले बताए ।मन्त्री विष्टले विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?