भन्सार अधिकृत खड्कासहित आठ जनाविरुद्व मुद्दा


काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत पवित्रकुमार खड्कासहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले साढे ७ करोड रुपैयाँ बिगो दाबी गर्दै खड्कासहित आठजनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले रसुवा भन्सार कार्यालय टिमुरेका नायव सुब्बा धिरज कुमार थापा, मितेरी इन्टरनेश्नल टे«डर्सका प्रोपाइटर सुमन श्रेष्ठ, मितेरी इन्टरनेश्नल ट्रेडर्सका रन्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्र्सनका प्रोपाइटर धन बहादुर तामाङ र सहयोगिहरु आकाश श्रेष्ठ, निरन्जन त्रिपाठी तथा डम्बर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई राजस्व अनुसन्धान विभाग ललितपुरको टोलीले गत मंसिर २५ गते चाइल्ड भेष्ट, बेबी इलास्टिक कट्टु भनी जाँचपास गरी ना ५ ख ६६५४ नम्बरको मालबाहक ट्रकमा काठमाडौंतर्फ ल्याउँदै गरेको अवस्था नियन्त्रणमा लिएको थियो ।
यसैबीच काठमाडौं जिल्ला अदालत बबरमहलमा फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले उनलाई वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?