भारतको सहयोगमा निर्माण भएका हुलाकी सडकहरु हस्तान्तरण


काठमाडौं (असन बजार पत्रिका): नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री वसन्त कुमार नेम्वाङले भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरु संयुक्त रुपमा आज नेपालका जनतालाई समर्पित गर्नुभयो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्र नाथ श्रेष्ठ, उप—सचिव श्री केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक श्री अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक श्री रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख श्री प्रफुल्लचन्द्र शर्मा उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको नेरु. ८०० करोड आर्थिक सहयोगमा निर्माण हुनेछन् । यी सडकहरुलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोड्दछन् । नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पु¥याएको छ ।

नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो ।  यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ । यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेड (NHIDCL) लाई चयन गरिएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पु¥याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ । भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज आज भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायात मन्त्रीले संयुक्त रुपमा समर्पित गर्नुभयो । यी हाल सालै निर्माण सम्पन्न भएका सडकले मानिसहरुको यात्रा तथा आवागमनलाई थम आरामदायी र सहज बनाएकोे छ । निर्माण सम्पन्न भइसकेका तराई सडक प्याकेजका नाम, लम्बाई र स्थान यस प्रकार छन्ः

क्रम संख्या           सडकको नाम       लम्बाई (किमि)       जिल्ला

१           मनमत—कलैया—मटियर्वा,प्याकेज १   १५.००    बारा

२          मनमत—कलैया—मटियर्वा,प्याकेज २   ११.६६    बारा

३          बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १     १७.००    धनुषा

४          बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २     १५.३१    धनुषा

५          जनकपुर— यदुकुहा            १६.६३    धनुषा

६          माइस्थान—गौशालाबजार—सम्शी        २६.९४    महोत्तरी

७          जलेश्वर—हर्दी        २७.२६   महोत्तरी

८          लमही—कोइलाबास            ३३.४७   दाङ्

९          कानेपोखरी—रङ्गेली            २५.४०    मोरङ्ग

१०         कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी        १७.२८    सप्तरी

११         तामागढी—सिम्रौनगढ, प्याकेज १         २०.००    बारा

१२         तामागढी—सिम्रौनगढ, प्याकेज २         १९.७४५  बारा

१३         बीरगंज—ठोरी, प्याकेज १     २५.६०    पर्सा

१४         बीरगंज—ठोरी, प्याकेज २     ३०.००    पर्सा

 

सम्बोधनका क्रममा राजदूत र मन्त्रीद्वयले नेपालको सडक विभागको हुलाकी राजमार्ग निर्देशनालय तथा NHIDCL का अधिकारीहरु र यस परियोजनासँग आबद्घ सबै सरोकारवालाहरुले यस परियोजनालाई सम्पन्न गर्न पु¥याएको सहयोग र सहकार्यको सराहना गर्दै उहाँहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

आज सम्पन्न १३ वटा तराई सडक प्याकेजको हस्तान्तरणले दुई देशबीचको विकास सहकार्यमा एउटा अर्को अध्याय थपेको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?