नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


भरतपुर: नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

पहिरा खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् ।

राजमार्गमा माथिबाट पहिरो खसेको छ । राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हँुदा हजाराँै यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

तनहुँमा पृथ्व राजमार्ग अवरुद्ध

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उहाँले बताउनुभयो ।

यसैबीच बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले दुई घर पुरेको र १० घरमा क्षति भएको छ । पहिरोले घर पुरे पनि मानवीय क्षति भने नभएको गाउँपालिका कार्यालयले जनाएको छ ।

ऋषिङ–५ को पिपलटाका १० घरमा पहिरोले क्षति पु¥याएको छ । स्थानीयवासी नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ ।

त्यसैगरी सीता केसीको घर पहिरोले पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको पाक्न लागेको मकै बाली क्षति भएको उहाँले बताउनुभयो । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी ऋषिङ–४ का वडासदस्य टोलनाथ थापाको घर पहिरोले पुरेको छ । घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?