मण्डनदेउपुरमा बृहत् खानेपानी आयोजनाको प्रक्रिया शुरु


काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गत चैतमा उक्त खानेपानी आयोजनालाई रु एक अर्ब स्वीकृत भएको थियो । काभ्रेलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रतिउपभोक्ता रु एक हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ ।

आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् ।

नगरस्थित ७ नम्बर वडाको सोते र १० नम्बरको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “लिफ्टिङ प्रविधिको यस आयोजनाले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउनेछ ।” इन्द्रावती नदीको विभिन्न स्थानबाट लिफ्ट गरिएको खानेपानी नजिकको गाउँ र तेस्रो स्रोतबाट मुख्य ट्याङ्कीमा जम्मा गरी सम्पूर्ण उपभोक्तामा वितरण गर्ने प्रणालीको व्यवस्थापन गरिने समितिले जनाएको छ । खानेपानी वितरणका लागि मुख्यसहित ३५ ट्याङ्की निर्माण गरिनेछ ।

स्थानीय प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । विनाशकारी भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही वर्षमै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?