घर खाली गर्ने तालिबान उर्दीको विरोधमा कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा


कन्दाहार ( एजेन्सीहरु )अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको र यसको विरोधमा प्रदर्शन भएको द खामा न्युज प्रेस एजेन्सीले बताएको छ ।

“हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं । तालिबानले हामीले यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,” एक प्रदर्शनकारीलाई उद्धृत गरी टोलोन्युजले उल्लेख गरेको छ । अमेरिकी र पश्चिमी सैनिक गठबन्धन ९नाटो० फौजले बहिर्गमन प्रक्रिया थालेसँगै सरकारी सेनाविरुद्ध आक्रामक र तीव्र गतिमा अघि बढेपछि तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति आसरफ गनीको निर्वाचित सरकार ढलेपछि गत महिना देश सङ्कटमा प¥यो । तालिबानको कब्जापछि अफगानिस्तानमा बर्बरताका हालैका दृश्यहरूले युद्धग्रस्त देशमा मानव अधिकारको भयावह अवस्था रहेको देखिएको छ ।
–अफगानिस्तानलाई दिने भनिएको सहयोग छिटो उपलब्ध गराउन राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ ।संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए ।ती देशहरुले कम्तीमा पनि १ अर्ब २ करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशहरुले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए । संयुक्त राष्ट्रसंघले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।

संयुक्त राष्ट्रसंघका तर्फबाट महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले सो रकम उपलब्ध गराउन मंगलबार भन्नुभएको हो ।यसअघि अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको थियो । संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने बताएको थियो ।
अफगानिस्तानको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको बताइएको थियो । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गर्नुभएको हो ।
उहाँले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताउनुभएको छ ।गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताउनुभयो । उहाँले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?