जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न


रामबहादुर थापा
बागलुङ: सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ ।

बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकांक्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो । सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो । पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावका वेला गरेका वाचा पूरा नगरेकामा स्थानीयवासीले दुःखेसो पोखेका थिए ।

राजनीतिक दलका नेता, नागरिक अगुवासमेत नगरपालिकाको कार्य सम्पादनप्रति असन्तुष्ट देखिन्थे । जनप्रतिनिधि र कर्मचारीले भने राम्रा काम पनि भएको भन्दै नगरपालिकाको बचाउ गरेका थिए । स्थानीय युवा छायाँदत्त चापागाईले दर्जन जति प्रश्न नगरपालिकाप्रति तेर्साउनुभयो । सरकारी बजेट खर्चेर नगरप्रमुखसहितले गरेको जापान भ्रमणको उपलब्धि मागेदेखि सार्वजनिक सवारीमा लिने गरिएको मनपरी भाडादर नियन्त्रण हुन नसकेकोसम्मका विषयमा उहाँका प्रश्न केन्द्रित थियो ।

स्थानीयवासी तिलक थापाले नगरपालिका स्थापना भएपछि एकपटक मात्रै टालटुले हिसाबले बजार अनुगमन भए पनि त्यसपछि अनुगमनले निरन्तरना नपाएको गुनासो पोख्नुभयो । उहाँले अनुगमन समितिको सिफारिसबिनै योजनाको भुक्तानीसमेत हुने गरेको सुनाउनुभयो ।

राष्ट्रिय जनमोर्चा जैमिनीका सचिव ठाकुरप्रसाद शर्माले कोभिड–१९ का बिरामीलाई अस्पताल पु¥याउन गाउँमा एम्बुलेन्स पठाइदिनुस्भन्दा पनि नगरपालिकाले सडकस्तरीय नभएको जवाफ दिएको स्मरण गर्नुभयो । “बिरामी बोक्ने एम्बुलेन्सका लागि सडक राम्रो बनाउने जिम्मा नगरपालिकाको हो की गाउँका गरिब जनताको ?”, उहाँले प्रश्न गर्नुभयो । नगरपालिकाका गाडी र डोजरका पार्टस् पोखरामा किनेर अन्तैको बिल हाल्ने गरेको भन्दै शर्माले आक्रोश पोख्नुभयो ।

भ्रष्ट आचारण भएका कर्मचारीका कारण पनि सुशासन कायम हुन नसकेको उहाँको भनाइ थियो । सिङ्गै नगर क्षेत्रभरि बिछ्याउन पुग्ने गरी पाइप वितरण भए पनि अहिलेसम्म कुनै पनि उपभोक्ताको घरमा सो पाइपबाट मुहानको पानी नपुगेको उहाँको दाबी छ । पहिलेको व्यवस्थामा बरु सर्वसाधारणले स्वास्थ्यचौकीबाट निःशुल्क सिटामोल पाउने गरेकामा स्थानीय सरकारका रुपमा नगरपालिका आएपछि त्यो सुविधा पनि हटेको शर्माले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता शोभाप्रसाद शर्माले प्रश्नको लामो सूची नै सार्वजनिक सुनुवाइमा प्रस्तुत गर्नुभयो । उहाँले कृषिउपज केन्द्र, महिला भवनलगायत अलपत्र भौतिक संरचना अब के हुन्छन् भनी जिज्ञासा राख्नुभयो । नगरपालिकाको न्यायिक समिति पनि कर्मकाण्डी मात्र भएको उहाँको आरोप थियो ।

नेपाली कांग्रेसका नगर सभापति प्रेमप्रसाद सापकोटाले सार्वजनिक सुनुवाइमा सकारात्मक कामबारे पनि चर्चा हुनुपर्ने धारणा राख्नुभयो । शून्यबाट उठेको नगरपालिकाले सीमित स्रोत साधनका वाबजुद जनताका पक्षमा काम गरेको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाभित्रका गलत प्रवृत्ति र बेथितिका विरुद्ध जनप्रतिनिधि स्वयंले पनि खबरदारी गर्नुपर्ने सापकोटाको भनाइ छ । नेकपा (एमाले)का नेता रुद्र आचार्यले नगरपालिकाले आन्तरिक आय वृद्धिका योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाबाट भए गरेका कतिपय सकारात्मक कामको पनि प्रसार नभएको धारणा राख्नुभयो ।

नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका काम र सेवा प्रवाहबारे जनताको तहबाट उठेका प्रश्न र जिज्ञासालाई आफूले सम्मान गर्ने बताउनुभयो । उहाँले विकास र पद्धति सिक्न आफूहरु जापान भ्रमणमा गएको प्रस्टाउनुभयो । उहाँले नगरपालिकाको न्यून खर्चमा जापान जाने अवसर आउँदा आफूहरु गएको भन्दै आलोचकलाई पनि एकपटक जापान भ्रमणमा जान सुझाउनुभयो ।

दुई वर्षअघि नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीको टोली जापान भ्रमणमा गएको थियो । उहाँले नगरको विकास र जनतालाई दिइने सेवा प्रवाहलाई चुस्त बनाउन हरसम्भव कोसिस गरिए पनि स्रोत साधनको सीमितता, भूगोल, प्रकृति, कोभिड–१९ महामारीलगायतले बाधा उत्पन्न गराएको बताउनुभयो ।

नगरप्रमुख पौडेलले जनप्रतिनिधिको इच्छाशक्ति कम हुँदा पनि त्यसले कामको प्रभावकारितामा असर पु¥याउने गरेको अनुभव सुनाउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी संयन्त्रबाट कुनै कमजोरी भएका भए त्यसलाई सच्चाएर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी निर्वाचित हुँदा गरेका प्रतिबद्धता कतिपय पूरा हुँदैछन्, बजेट, स्रोत साधनको अभावमा पनि केही योजना अगाडि बढाउन सकिएको छैन”, उहाँले भन्नुभयो । नगरपालिका बनेपछि पहिलो वर्षको कार्ययोजनाअनुसार नगरका सबै विद्यालय र स्वास्थ्य संस्थामा सडकको पहुँच पु¥याइएको उहाँको भनाइ छ ।

यही वर्ष नगर खरका छानामुक्त हुने र घरबारविहीनलाई घर बनाइदिने नगरप्रमुख पौडेलले बताउनुभयो । अति विपन्नको घर निर्माणका लागि सङ्घ सरकारले विशेष अनुदानबापत रु एक करोड नगरपालिकालाई उपलब्धसमेत गराइसकेको छ । यस्तै भूमिहीनको समस्या पनि सधँैका लागि अन्त्य हुने नगरप्रमुख पौडेलले बताउनुभयो । सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका योजनालाई पनि गति दिइने उहाँको भनाइ छ ।

सामाजिक तथा मानव विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनुभयो । उहाँका अनुसार शिक्षा क्षेत्रमा मात्र नगरपालिकाको झण्डै ५० प्रतिशत बजेट खर्च भइरहेको छ । त्यसपछि ठूलो बजेट स्वास्थ्यमा जान्छ । योजना अधिकृत प्रेमप्रसाद सापकोटाले गत आवमा भौतिकतर्फ नगरपालिकाले कूल ८८ प्रतिशत र वित्तीयतर्फ ८३ प्रतिशत प्रगति हाँसिल गरेको उल्लेख गर्नुभयो ।

गत वर्ष २३ किमि नयाँ सडक विस्तार भएको र एक हजार २०० मिटरमा कालोपत्र भएको उहाँको भनाइ छ । आफ्नै भवन निर्माणका लागि नगरपालिकाले जग्गासमेत व्यवस्थापन गरिसकेको छ । रासस

(बागलुङको जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाईमा नगरका काम र सेवा प्रवाहबारे प्रश्न राख्दै स्थानीयवासी तिलक थापा । तस्वीर: रामबहादुर थापा/ रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?