भारत र नेपालद्वारा नेपालका भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा


काठमाडौं (असन बजार): भारत र नेपालले २०७८ आश्विन १४ गते काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना ग¥यो । उक्त बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव  अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव  सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न भएको हो ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न हेतु सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो । उक्त बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो । यस अघि जेपीएमसीको बैठक २०७६ फाल्गुण २५ गते भएको थियो ।

बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा ग¥यो । आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा सफलतापूर्वक ५०,००० निजी घरको पुनर्निर्माण भएकोमा बैठकमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए । 

त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए ।  जेपीएमसीको अर्को बैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भएको भारतीय दूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?