तमु ल्होसार पर्वका अवसरमा शुभकामना


तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको उहाँको भनाइ छ । उहाँले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो, नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश पनि हो, देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ हुन्, यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो ।”

तमु समुदायमा नयाँ वर्षको आगमनको खुसियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले आफ्नै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने उहाँको विश्वास छ । उहाँले यो समुदाय सदियौँदेखि आफ्ना रीति, परम्परा तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको बताउनुभएको छ । उहाँले यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीबीच सहिष्णुता र सद्भावको भावना जागृत होओस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री खतिवडाद्वारा ल्होसारको शुभकामना
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २६०६ औँ तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मन्त्री खतिवडाले जारी गर्नुभएको विज्ञप्तिमा गुरुङ समुदायको नयाँ वर्ष ल्होसार पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीमा हार्दिकता, सहिष्णुता, सद्भाव र सम्मान कायम गर्ने विश्वास व्यक्त गरिएको छ । विविध रङका फूलको साझा फूलबारीका रुपमा रहेको मुलुकमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएकाले एक अर्काको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति उच्च सम्मान गर्नुपर्ने उल्ल्ेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा समुदाय तथा स्थान विशेषअनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन्, जुन हाम्रो गहना हो, यस्ता विविध खालका परम्परा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य हो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा केही वर्षयता भित्रिएको र महामारीका रुपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोनाअर्थात् कोभिड–१९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएको उल्लेख गरिएको विज्ञप्तिमा रोगको प्रभाव पछिल्लो कालमा निक्कै कम पार्न सफल भएको जनाइएको छ ।

पछिल्लोपटक यसको तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ ।

‘तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ’

कर्णाली: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले नेपालीबीच एकापसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीले विविधताभित्रको एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक पहिचानका उदाहरण भएको उल्लेख गर्दै नेपाल सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएकामा धन्यवाद व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरी हर्षोल्लासका साथ यो पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङद्वारा ल्होसारको शुभकामना
गण्डकी: गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश जारी गर्दै गुरुङ समुदायले विशेष हर्षका साथ पुरानो गाई वर्गलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ बाघ वर्गलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउन लागेको उल्लेख गर्नुभएको छ । तमु जातिको नयाँ वर्षका रुपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

“ल्होसार पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै तमु जातिलगायत सम्पूर्ण नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरित गर्न सकोस्”, शुभकामना सन्देशमा भनिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?