के पाकिस्तान पाँच टुक्रा हुनबाट जोगिएला ?


उज्ज्वल झा
काठमाडौं । पाकिस्तानमा इमरान खानको सरकार गिरेर शहबाज शरीफको नेतृत्वमा नयाँ सरकार गठन भएता पनि त्यहाँको हालत दिन प्रतिदिन खराब हुँदै गइरहेको छ । पाकिस्तानको आर्थिक अवस्था नाजुक मात्र होइन, कुनै दिन सरकारले मुलुक टाट पल्टेको घोषणा गर्न बेर लाउँदैन् ।
पाकिस्तानको अर्थतन्त्र यति चर्मराउँदो अवस्थामा छ कि त्यहाँ जुनसुकै सरकार आए पनि तत्काल सङ्लो अवस्था आउने कुनै सम्भावना वा संकेत छैन ।
एकातिर पाकिस्तानमा गिर्दो आर्थिक हालतले सिँगो मुलुकलाई गाँजिएको छ भने अर्कोतिर सैन्य शक्तिमाथि पनि दिन प्रतिदिन चुनौतीहरु थपिँदै गएको छ । पाकिस्तान अहिले वाह्य र आन्तरिक विप्लवबाट आक्रान्त छ । पाकिस्तानी सेनाका लागि पाकिस्तान कै तीन क्षेत्र सिन्ध, बलोच र पख्तुनबाट आन्तरिक चुनौती देखिएको छ ।
अफगानिस्तानमा तालिबान शासन आएपछि पाकिस्तानका अधिकारीहरुले सोचेका थिए कि छिमेकमा एक मित्र शक्तिको सरकार स्थापना भयो र यो शक्ति नै पाकिस्तानको हितमा हुनेछ भन्ने, तर स्थिति ठीक विपरीत हुन पुगेको छ ।
अफगानिस्तान–पाकिस्तान असन्तोष
पाकिस्तानी हवाई सेनाले हालै अफगानिस्तानको इलाकामा जुन जेट बम्बार्टमेन्ट ग¥यो, त्यस कारवाहीबाट पाकिस्तान–अफगानिस्तानबीच रहँदै आएको मित्रता खत्तम भएको छ । पाकिस्तानी हवाई आक्रमणलाई तालिबान शासकहरुले निन्दा मात्र गरेनन् उल्टो पाकिस्तानलाई शत्रु देशको दर्जासमेत दिए । तालिबानले भन्यो पाकिस्तानलाई, तपाइँहरुले हाम्रो मस्जिद, बच्चाहरु पढ्ने स्कुल र गैरसैनिक क्षेत्रमा आक्रमण गर्ने अनि आइएसआइबाट तालिम प्राप्त आत्मघाती लडाकु पठाउने यस्तो शत्रुतापूर्ण काम गरेकाले पाकिस्तान हाम्रो मित्र शक्तिका रुपमा रहने छैन ।
अफगानिस्तानले आफ्नो लोगोर क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणलाई निःस्तेज पार्न २३ एमएमको एन्टिएअरक्रफ्ट गनले प्रहार गर्दा पाकिस्तानी लडाकु विमान भागेका थिए । अफगानी अधिकारीहरुका अनुसार तालिबानको उक्त प्रहार चेतावनीस्वरुप थियो । पाकिस्तानी हवाई कारवाहीको संयुक्त राष्ट्रसंघले पनि निन्दा गरिसकेको छ । एक अफगानी रक्षा अधिकारीले स्पष्ट शव्दमा पाकिस्तानलाई भनेको छ, तिमीले एक पटक हवाई आक्रमण ग¥यौं, अब दोस्रो पटक पनि हिम्मत मात्र गरे पनि त्यसको नराम्रो नतिजा भोग्न तयार बसे हुन्छ ।
अफगानिस्तान र पाकिस्तानको सम्बन्ध यस्तो तल्लो अवस्थामा आउनका लागि पाक अधिकारीहरु नै जिम्मेवार छन् । खासमा तेहरिकी तालिबान पार्टी (टिटिपी) को पृथकतावादी आन्दोलनविरुद्ध हवाई कारवाही गरेको पाकिस्तानी अधिकारीहरुको भनाई छ । टिटिपी पाकिस्तानको पश्चिम र अफगानिस्तानको पूर्वी पख्तुन क्षेत्रलाई समेटेर एक स्वतन्त्र राज्य बनाउन चाहन्छ । त्यसका लागि नै उसले हिंसात्मक कारवाही गर्दै आएको छ । यो कारवाहीले अहिले गति लिएको छ । अफगानिस्तानका शिक्षामन्त्री मौलवी नुरुल्लाह मुनिरले सीमा इलाकामा थप मदरसा खोल्ने बताए । सबैलाई थाहा छ कि तालिबान भनेको एक आतंकवादी संस्कृतिलाई बढावा दिने जमात हो । मदरसा थप गर्दै जाने भनेको मतलब त्यहाँ आतंकवादी प्रशिक्षण दिएर आत्मघाती दस्ता र मिलिसियाको विकास गर्नु हो ।  टिटिपी असलमा तालिबानको एक शाखा हो । अफगानिस्तानका पूर्वशासक असरफ घानीले पाकिस्तानी टिटिपीका जति पनि लडाकाहरु थिए, उनीहरुलाई बघरामलगायत अन्य जेलमा थुनेर राखेका थिए । अफगानिस्तानमा तालिबान शासनमा आएपछि तिनीहरुलाई रिहा गरिएको थियो । उनीहरु रिहा भएलगत्तै पाकिस्तानको बजिरास्तान, फाटा र केपिके क्षेत्रमा पाक आर्मीको पोस्टहरु र कनभ्वएविरुद्ध आक्रमण शुरु गरेका थिए । जसका कारण पाक आर्मीहरुको लाश पञ्जाबमा पुग्न थाल्यो । पाकिस्तान आर्मीमा पख्तुन जातिका जति पनि सैनिकहरु छन्, तिनीहरुमाथि पञ्जाबमूलका आर्मी अफिसर्सहरुले विश्वास गर्दैैनन् । फलस्वरुप पाक आर्मीमा चिरा परेको अवस्था छ ।
पञ्जाबी स्थानविशेषको उननति र प्रगति मात्रै र आफ्नै मात्रै वर्चश्व रहनुपर्ने मानसिकताका आर्मी अफिसर्सले पख्तुन मूलका सैनिकहरुलाई  बलोचिस्तानमा बलोचविरुद्ध कारवाही गर्न पठाउन छन् ।
इमरान खान–सेनाबीका टक्कर  
हालैमा पूर्वप्रधानमन्त्री इमरान खान र पाक सेना प्रमुख कमर जावेद बाजवाबीच  राजनीतिक टक्कर भयो र त्यो टकरावबाट खानले जुन एन्टि वाजवा मूभमेन्ट शुरु ग¥यो त्यो अहिले आएर एन्टि पाकिस्तानी सेना मूभमेन्टमा परिणत भएको छ । पाक आर्मीका लागि यो क्षण अवश्य पनि सकसपूर्ण भएको छ ।
बलोच मूभमेन्ट
हालैमा बलोचिस्तानमा पृथकतावादी आन्दोलनले नयाँ उचाइ हासिल गरेको छ । एक विवाहिता महिला स्यारी बलोचले स्वतन्त्र बलोचिस्तानका लागि आत्मघाती आक्रमण गरेर आफ्नो प्राण उत्सर्ग गरेको घटना पाकिस्तानमा सर्वाधिक चर्चाको विषय भएको छ । आर्थिक रुपमा सबल परिवार, कराँची युनिभर्सिटीबाट स्नातक गरेकी त्यस्तो आधुनिक मानसिकताका बलोच महिला आत्मघाती आक्रमणका लागि कसरी तयार भए र उनले किन प्राण आहुति गर्न प¥यो भन्ने घटनाका पछाडि विश्लेषण गर्नु जरुरी छ । घटनामा चिनियाँ भाषा पढाउने तीन जना चिनियाँ नागरिकसहित एक पाकिस्तानीको मृत्यु भएको थियो । बलोचिस्तानमा विगत ७५ वर्षदेखि पाक आर्मीको अन्याय र अत्याचारका घटनाको पराकाष्ठाको रुपमा आत्मघाती आक्रमणलाई लिइएको छ । पाकिस्तानका जति पनि शासकहरु आए तिनीहरुले बलोचिस्तानको प्राकृतिक संसाधनमाथि लुटखसोट मच्चाए र पञ्जाब प्रान्तमा लगेर पोसे । हजारौं बलोच जवान केटाहरुलाई बेपत्ता पारेर तिनको अस्थिपञ्जर मात्र बाँकी राख्ने काम गरे । पाक आर्मीले कतिपय बलोच महिलाहरुलाई बलात्कार गरेर मारेर फालेको बलोच पृथकतावादीहरुको दावी छ । पाकिस्तानी आर्मीको क्रूरतापूर्ण कारवाही र बलोचहरुको पीडा र दुःखमाथि दुनियाँका एक से एक मानवाधिकारवादी संगठन र देश भनाउँदाहरु मौन छन् । केही हदमा बलोचको मुद्दामा भारत सरकारसमेत चूप लाग्ने गरेको छ । भारतका एक दुई  मानवअधिकारवादी संघसंस्था र एक दुई रक्षा विशेषज्ञहरुले बलोचहरुको मुद्दा बीच बीचमा उठाउने गरेका छन् । जबकि बलोचहरुलाई आरोप लाग्ने गर्दछ कि उनीहरुको मूभमेन्टपछाडि भारतको गुप्तचर संस्था रको सहायता र सहयोग छ । यदि निष्पक्ष विश्लेषण गर्ने हो भने बलोच आन्दोलन आफ्नै बलबुतामा अडेको आन्दोलन हो । चीनमा उइगर मुसलमानहरुको मानव अधिकार हनन् भएको मुद्दा उठाउने अमेरिकालगायत युरोपेली देशहरु पनि बलोचहरुमाथि भएको उत्पीडनको विषयमा चूपचाप छन् ।
आत्मघाती आक्रमणबाट चीनलाई सन्देश
कराँची युनिभर्सिटीमा भएको आत्मघाती आक्रमणको घटनापछाडि चीनलाई बलोचहरुले यो सन्देश दिएको छ कि बलोचिस्तानस्थित गवादर बन्दरगाह र त्यहाँको प्राकृतिक संसाधनमाथि बलोचहरुको पूर्णतयाः अधिकार सुनिश्चित रहेकाले उनीहरुको अनुमतिविना चिनियाँहरुले त्यहाँ मनपरी गर्न पाउँदैन् । बलोचिस्तानमा मानववीय अवस्था एकदमै दुरुह छ । त्यहाँ न पानी छ, न बिजुली छ, न राम्रो शिक्षा सदन छ, न स्वास्थ्य सुविधा छ, यी तमाम समस्याबाट बलोचहरु आक्रान्त छन् । जबकि बलोचिस्तानले पाकिस्तानी ग्रार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पु¥याएको छ । एक बलोच महिला इसरानीले हालैमात्र पाकिस्तानी फौजले उनको दुई भाइलाई बेपत्ता पारेको आरोप लगाएकी छन् । इसरानीका अनुसार उनका भाइहरुको कुनै गल्ती वा कुनै भूल छैन ताकि उनीहरुलाई गिरफ्तार गरेर बेपत्ता पारियोस् । इसरानीको भनाईमा आफ्ना दुई भाइले पाकिस्तानको कुनै पनि कानुन उल्लंघन गर्ने काम गरेको छैन । उनीहरु निरपराध छन् । सिर्फ उनीहरुको गल्ती यत्ति थियो कि उनीहरु बलोचिस्तानमा जन्म लिए  र बलोच नागरिक भए । इसरानी आज पाकिस्तानमा रुँदै, कराउँदै, हारगुहार गर्दै भाइहरुको स्थिति पत्ताउन गल्लीगल्छेडोहरुमा भौंतारिएकी छन् । उनले अहिलेसम्म उपचार पाएकी छैनन् । पाकिस्तानको स्थिति हेर्ने हो उनले उपचार पाउला जस्तो पनि छैन । कराँचीका पूर्वमेयर एवम् मानवअधिकाकर्मी (जो अहिले निर्वासित जीवनमा छन्) आरिफ अजाकिया भन्छन्, कराँची घटनाको चीनले निन्दा गरेका छन् । साथसाथै पाकिस्तान सरकारसित चिनियाँ नागरिक मारिएकोमा क्षतिपूर्ति पनि मागेका छन् तर यो सजिलो छैन । बलोचिस्तानका स्थानीय जनताको इच्छाविपरीत प्राकृतिक संसाधनमाथि एकलौटी कब्जा जमाउन, यो नै चीनका लागि सन्देश हो । चीनले पञ्जाब मूलका अधिकारीहरु जो पाकिस्तानको शासन, प्रशासनमा हावी छन् । उनीहरुसँग मात्रै मित्रता वा सम्झौता गर्दैमा पुग्दैन । चीनले आफ्नो नीतिमा परिवर्तन गर्नु पर्दछ । बलोचिस्तानको जमिनको मालिक बलोचहरु हुन् । पञ्जावी होइनन् । चीनले सिपेकमा आफ्नो लगानी नडुबाउने हो भने बलोच नागरिकहरुसँगै कुराकानी गर्नु पर्दछ  अन्यथा घाटा चीनले नै व्यहोर्नु पर्दछ । चीनले पञ्जाबीहरुसँग मात्र सम्झौता गरेर आफ्ना कतिजना नागरिकको वलिदान चढाउँदै जाने हो ? त्यसकारण चीनले आफ्नो पाकिस्तान नीतिमाथि पुनर्विचार गर्ने बेला आएको छ ।
भारत–बलोचिस्तान
पाक आर्मीको अत्याचारपूर्ण कामबाट आजित भएका बलोच नागरिकहरुले यदाकदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहायता खोजेका छन् । उनीहरुले मोदी आओ बलोचिस्तानको बचाऊ भन्ने नारा पनि लगाएका थिए । त्यसको बदलामा मोदीले पनि एक पटक बलोचहरुमाथि सहानुभूति प्रकट गरेका थिए । जुन पाकिस्तानी शासकहरुलाई विषाक्त भएको थियो ।
सिन्ध र खयबर पख्तुनवाको स्वतन्त्रता आन्दोलन
सिन्ध प्रान्तको नवाब शाह रेल्वे ट्र्याकमा हालै विस्फोट भएको थियो । उक्त विस्फोटको सिन्धु देश लिब्रेसन आर्मीले जिम्मेवारी स्वीकारेको छ । सिन्धमा पनि पाक आर्मी आँधी आउनु अगाडिको शून्यतालाई पर्खिरहेको जस्तो देखिन्छ । शायम जिन्द शैय्यद जसलाई फादर अफ सिन्ध देश भनिन्छ, पछिल्लो हप्ता उनको जन्मदिन थियो । त्यही अवसरमा सिन्धको साना–ठूला शहरमा विरोध प्रदर्शन गरिएको थियो । उनीहरु चाहन्छन्, पाकिस्तानबाट सिन्ध प्रान्त अलग भएर एक अलग देश बनोस् । सिन्धको हालत खराब हुँदै गइरहेको छ । सिन्ध प्रान्तको सदरमुकाम कराँची जसलाई पाकिस्तानको आर्थिक शहरको रुपमा लिइन्छ । त्यहाँ एक दिन मात्रै अप्रिय घटना भयो भने पूरै पाकिस्तानको व्यापार–व्यवसाय ठप्प हुन्छ । त्यसउसले पनि सिन्धको मामिलालाई समझदारीपूर्ण तरीकाबाट समाधान गर्न जरुरी छ । खयबर पख्तुनवामा पनि विस्फोटको लाभा फुट्न तयार रहेको मानिन्छ । खयबर पख्तुवा त्यो भू–रणनीतिक महत्वको स्थान हो, जहाँबाट अफगानिस्तान हुँदै मध्य एसिया किर्गिस्तान, तुर्कमेनिस्तानलगायत अन्य देश पुग्न सकिन्छ । खयबर पख्तुनवा त्यो क्षेत्र हो जस्ले चीनको सिन्जियाङ प्रान्त जोड्छ । जहाँ उइगर मुसलमानहरुको बाहुल्यता छ । यो क्षेत्र सबै पिओके भित्र पर्दछ । त्यही क्षेत्र भएर सिपेक प्रोजेक्टको सडक बलोचिस्तानको गवादर बन्दरगाहसम्म पुग्दछ । भारतले चीनको बिआरआई परियोजनालाई विरोध गर्नुको पछाडिको प्रमुख कारण के हो भने पिओके क्षेत्र भारतको हो र त्यहाँ पाकिस्तानले जबरजस्ती कब्जा गरी राखेको छ । पाकिस्तानले एक न एक दिन पिओके खाली गर्नै पर्दछ । यो भारतको संकल्प हो । अंग्रेजले सन् १९४५ मा धर्मको आधारमा भारतबाट छुट्याइएको पाकिस्तान आज छिन्नभिन्न हुने संघारमा छ । जसरी युगोस्लाभिया छिन्नभिन्न भयो एक दिन पाकिस्तान पनि पाँच टुक्रा हुन बेर छैन ।
(एजेन्सीको सहयोगमा आधारित समाचार विश्लेषण)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?