आतंकवाद र सीमा मुद्दा छिचोल्दै भारत बन्दैछ, ‘सुपरपावर’


असन बजार पत्रिका

काठमाडौं । विश्व समुदायका अगाडि भारत एक उदाउँदो सुपरपावर राष्ट्र हो । उदाउँदो सुपरपावरका नाताले भारतको अन्तर्राष्ट्रिय क्षेत्रमा अन्य राष्ट्रको तुलनामा बेग्लै स्थान र मान्यता रहेको छ । यसको पछिल्लो उदाहरणस्वरुप रुस–युक्रेन युद्धमा अमेरिका र उसका मित्र गठबन्धनले भारतसँग गरेको आग्रह र सहयोगबाट के प्रस्ट हुन्छ भने विश्वको चौंथो सैन्य शक्तिको मान्यता पाएको भारत अमेरिका वा रुस जुनसुकैको पक्षमा लाग्दा पनि उसैको तौल वा सामथ्र्य हावी हुने देखिएको छ । खासगरी दक्षिण एसियामा अफगानिस्तान, पाकिस्तान, नेपाल, भूटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका अझ भनौं भने म्यानमारसम्म पनि भारतको उपस्थितिविना त्यहाँको आर्थिक विकासका साथसाथै क्षेत्रीय समस्या हल गर्न गाह«ो पर्ने देखिन्छ । यो भनाइ एक पक्षीय जस्तो देखिए पनि यथार्थमा सत्य हो । संसारमा सुपरपावरको आधिकारिक व्याख्या वा प्रमाणपत्र दिने वा दिलाउने निकाय त कहीँकतै छेन तापनि आम प्रचलनमा सुपरपावरको दर्जा उसैलाई दिने गरिएको छ, जसको बलियो आर्थिक स्थिति, आफूलगायत छिमेकीलाई परेको बेला रक्षा गर्न सकोस् र सैन्य बलमा रक्षात्मक तथा आक्रामक दुबै मोर्चामा सक्षम र सबल होस् । भारतको सन्दर्भ भन्ने हो भने सुपरपावर बन्न भारत आर्थिक तथा सैन्य बलमा आफूलगायत परिआएको बेला छिमेकीको पनि रक्षा गर्ने शक्ति र सामथ्र्य राख्दछ । त्यस्तै भारत दक्षिण एसियाको क्षेत्रीय शक्ति हुँदाहुँदै पनि हिन्द महासागर क्षेत्रमा पनि रणनीतिक महत्व बोकेर बसेको छ । विगतमा दक्षिण एसियाली मुलुकले भारतको शक्तिको परख राम्ररी गरिसकेको छ । उदाहरणका लागि माल्दिभ्स र श्रीलंकामा भएको राजनीतिक घटनाको उथलपुथलमा भारतको भूमिकालाई अध्ययन गरे पुग्दछ । भारत आज पाँच ट्रिलियन डलरको आर्थिक शक्ति बन्ने तरखरमा छन् । भारतले पछिल्लो समयमा रक्षा क्षेत्रमा जुन किसिमको उपलब्धि हासिल गरेको छ, त्यसलाई देखेर विश्वका महाशक्ति राष्ट्रहरु पनि सतर्क र स्तब्ध भएका छन् । राजनीतिक मामिलामा भारत विश्वको प्रथम व्यापक प्रजातान्त्रिक मुलुक हो । भारतको जनसंख्या केही समय अगाडि समस्या थियो भने अहिले त्यही जनसंख्या अवसरको रुपमा खडा भएको छ । विश्वका औद्योगिक उत्पादक मुलुकहरुका लागि भारतको विशाल जनसंख्या अहिले ठूलो बजार बनेको छ । त्यसैले अमेरिकालगायत पश्चिमा मुलुकहरुले भन्ने गरेका छन्, भारतलाई सुपरपावर बन्न कसैले रोक्न सक्दैन् । तर विश्वको आर्थिक र सैन्य शक्ति सन्तुलनमा भारतको शत्रु शक्ति पनि छ । भारतको प्रगतिप्रति सहन नसक्ने शक्ति पनि छ । वर्तमान सन्दर्भमा भन्ने हो भने चीन–पाकिस्तानको गठबन्धन नै भारतका लागि चुनौती र तगारोको रुपमा देखिएको छ । पाकिस्तानको सीमावर्ती आतंकवाद र चीनको लद्दाख र अरुणाचल प्रदेशमा सीमा हस्तक्षेपले भारतलाई युद्धतर्फ घच्चघच्याइ रहेको छ । विगतमा भारतको चीनसँग एक र पाकिस्तानसँग तीन पटक युद्ध भइसकेको छ । युद्धमा चीनसँग भारत एक पटक हारेको छ भने पाकिस्तानसँग तीनै पटक जितेको छ । पहिले चीन–पाकिस्तान र भारतबीच भएको युद्ध इतिहास भइसकेको छ । वर्तमान सन्दर्भमा भन्ने हो भने अबको युद्ध पाँचौं पुस्ताको हुनेछ । पहिलो पुस्ताको युद्ध भन्नाले मल्ल युद्धलाई मानिन्छ भने दोस्रो पुस्ताको युद्ध पारम्परिक तरवार, भाला र ढुंगाको हतिहार प्रयोग गरेर गरिने युद्धलाई मान्ने गरिन्छ । यस्तै तेस्रो पुस्ताको युद्ध भन्नाले सैन्य बल अर्थात् आधुनिक बन्दुक, तोप, गोला, बारुदको प्रयोग गर्नेलाई जनाउँछ । चौंथो पुस्ताको युद्ध भन्नाले आधुनिक सुपरसोनिक लडाकु हवाई र युद्धपोत र क्षेप्यास्त्र शक्तिलाई जनाउँछ । पाँचौैं पुस्ताको युद्ध भन्नाले परमाणु, साइबर आर्मी र अन्य इलेक्ट्रिक सैन्य शतिmलाई मानिएको छ । भारतले पाँचौं पुस्ताको युद्ध लड्न अझै कसरत गर्न बाँकी छ । भारतसँग परमाणु हतियार त छ । तर भनिन्छ, त्यो तर्साउन मात्र हो आक्रमण गर्न होइन् । परमाणु युद्धको परिणाम विध्वंसक हुन्छ । सितिमिति यो हतियार कुनैपनि परमाणु शक्ति सम्पन्न राष्ट्रले प्रयोग गर्दैन् । भारतलगायत संसारका १० वटा परमाणु शक्ति सम्पन्न राष्ट्रले आणविक बम प्रयोग गर्ने आ–आफ्नो नीति फरक–फरक ढंगले बनाएका छन् । अधिकांश राष्ट्रले नो फस्र्ट युज भनेका छन् । रक्षा क्षमताको कुरा गर्ने हो भारतसँग स्टिल्थ हवाई लडाकु जहाज वा बम्बर पनि छैन । उसँग न त रोबोटिक आर्मी नै छ । अन्तरिक्ष युद्धका मामिलामा पनि भारत धेरै पछि देखिन्छ । जबकि भारतको परम शत्रुको रुपमा मानिने चीन स्टिल्थ हवाई लडाकु जहाज वा बम्बर, रोबोटिक आर्मी र अन्तरिक्ष युद्धका लागि चाहिने हतियार र उपकरणमा धेरै अगाडि छ । एसियाका दुई महाशक्तिका रुपमा स्थापित चीन र भारतबीच नै वास्तवमा सैन्य र आर्थिक मोर्चामा प्रतिस्पर्धा चलिरहेको छ । यस मोर्चामा कसले कसलाई पछार्ने हो भनेर बाँकी संसार मूल्यांकन गरेर बसिरहेका छन् । चीनको तुलनामा भारतलाई आर्थिक र रक्षा क्षेत्रमा प्रगति गर्न गाह«ो छ । किनभने भारतमा प्रजातन्त्र छ भने चीनमा एकतन्त्रीय शासन व्यवस्था छ । एकतन्त्रीय शासन व्यवस्थामा मनोमानी चल्दछ भने प्रजातन्त्रमा चल्दैन । प्रजातन्त्रमा जन चाहनालाई कदर गरिएन भने चुनावमा पछारिने डर हुन्छ । एकतन्त्रीय शासनमा जन चाहना मुखरित त के हुन्थ्यो उस्तैप¥यो भने क्रूरतापूर्वक दबाइन्छ । त्यसकारण भारत र चीनबीचको भिन्नता नै यही हो । भारत र चीनबीच यत्रो भिन्नता हुँदाहुँदै पनि भारतमा राष्ट्रवादको भावना भने बुलन्द छ । राष्ट्रवादको भावनाको बुलन्दीले गर्दा नै भारतले विगतमा भन्दा वर्तमानमा रक्षा क्षेत्रमा प्रगति गर्न सकेको हो । भारत आज अन्तरिक्षमा आफ्नो उपस्थितिका लागिका लागि चाहिने रकेट, ल्यान्डर, अर्बिटर, अत्याधुनिक जिपिएस सिस्टमसहितको स्याटेलाइटको विकास गर्न लागि परेको छ । यस्तै स्वदेशी युद्धक सामग्री, स्टिल्थ लडाकु जहाज (जुन जहाजलाई राडारले पहिचान गर्न सक्दैन) हारपरसोनिक मिसाइलको विकास र परीक्षण गर्दैछ । भारतसँग अन्तर महाद्विपीय ब्यालेस्टिक मिसाइल र ब्रह्मोस क्रुज मिसाइल त छँदैछ तर सुपरपावर बन्न यत्तिले पुग्दैन । त्यसका लागि उसले दिन रात एक गरेर रक्षा क्षेत्रमा एकसे एक हातहतियार र युद्धक सामग्रीको विकास गर्नै पर्दछ । तर भारत प्रजातान्त्रिक मुलुक भएकाले उसले चाहेको जस्तो विकास र आविष्कार गर्न सक्दैन । भारतको सवभन्दा ठूलो चुनौती भनेको नै प्रजातान्त्रिक तौरतरिकाले जन चाहनालाई परिपूर्ति गर्दै जानु हो । लोकतन्त्रमा सबैको चाहना परिपूर्ति हुँदैन । जन चाहना परिपूर्ति हुन नसकेमा वा सम्बोधनसम्म पनि गर्न सकिएन भने विद्रोह वा असन्तोष उत्पन्न हुन्छ । भारतको इतिहासमा यस्तै जन विद्रोह वा असन्तोष धेरै पटक देखापरेको छ । जन असन्तोषलाई व्यवस्थापन गर्न नसक्दा त्यहाँको सवैभन्दा पुरानो र शक्तिशाली राजनीतिक पार्टी कंग्रेस आईकोे स्थिति के छ सबैका सामु छर्लंग छ । भारतमा पछिल्लो समयमा भावनात्मक रुपमा एकसूत्रमा बाँध्ने काम भारतीय जनता पार्टीले गरेको देखिन्छ । भाजपाले थोरै समयमा भारतको जनमानसमा जरा गाड्न सफल हुनुको पछाडि हिन्दु भावनालाई समेट्नु हो । भाजपाको नारालाई त्यहाँका जनताले अनुमोदन गरेकाले भाजपा आज पूर्व–पश्चिम, उत्तर–दक्षिणसम्म फैलँदै छ । केन्द्रदेखि राज्यसम्म उसको पार्टीको सरकार रहेको छ । भाजपाले हिन्दु, मुस्लिम, सिख, इसाई धर्मावलम्बीसँग समन्वय कायम गर्ने कोसिस जारी छ । हाँलाकि भाजपालाई हिन्दुवादी पार्टीका रुपमा चित्रण गरिएको छ । भाजपाले थोरै समयमा जातीय, पेशा, क्षेत्र र धार्मिक भावनाको राजनीतिबाट भारतले प्रगति गर्न नसक्ने भएकाले सबैको साथ सबैको विकास भन्ने नारा अगाडि सारेको छ । भारतका राजनीतिक दलहरुले जातीय, धर्म, क्षेत्र र पेशाको आधारमा राजनीति गर्न छोड्यो भने त्यत्तिबेला भारत चाँडै सुपरपावर बन्नेछ । अन्यथा भारतलाई विश्व गुरु त के सुपरपावर बन्न पनि दशकौँ लाग्ने देखिन्छ । भारतका लागि सुपरपावर बन्न अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल देखिए पनि आन्तरिक स्थिति प्रतिकूल छ । यो प्रतिकूलताका बीच सत्तारुढ दल भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदी कसरी अगाडि बढ्ने हुन् प्रतीक्षाको विषय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?