विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाइने ः सिर्जना सिंह


काठमाडौँ  । गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताउनुभएको छ । आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताउनुभयो । “काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ ।

सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो । काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उहाँको भनाइ छ ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

उहाँले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताउनुभयो । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै काठमाडौँ महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?