सिर्जनाको सिर्जनात्मक संकल्प सत्यताको संघारमा ?


उज्ज्वल झा
काठमाडौं । निर्वाचन आयोगको आचारसंहिता अनुसार आज (मंगलबार राति १२ बजेदेखि स्थानीय चुनाव २०७९ को आधिकारिक प्रचार प्रसार समाप्त हुँदैछ । आज राति १२ बजेपछि मौन अवधि शुरु हुन्छ । यो अवधिअघि नै राजनीतिक दलहरु अन्तिम चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
यस पटकको स्थानीय चुनावमा अत्यधिक चर्चामा आएको महानगरमध्ये भरतपुर र काठमाडौं नै हो । भरतपुरमा पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल (यद्यपि, नयाँ अनुहार भने होइन) र काठमाडौंमा प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहको उम्मेदवारीका कारण जनसाधारणको आकर्षण बटुल्न सफल भएको हो । भरतपुरमा रेणुकोविरुद्ध बागी उम्मेदवार र काठमाडौंमा राजनीतिक प्रतिस्पर्धाका कारण सिंह र दाहालको उम्मेदवारीलाई लिएर अनेकन लख काटिएको छ । लख काट्ने स्वतन्त्रता जो कोहीलाई पनि छ । लख काट्न पाउनु पनि पर्छ । किनभने आफूलाई मन परेको वा मन नपरेको कुरा अभिव्यक्त गर्न पाउनु लोकतन्त्रको गहना हो । लोकतन्त्र कसैको पेवा होइन ।

लोकतन्त्रमा सबै समान र साझेदार हुन्छन्, तर लोकतन्त्रले दिएको छुटलाई आफ्नो स्वार्थअनुकूल कसैले प्रयोग गरिएको खण्डमा त्यहाँनिर औंला ठड्याउने अधिकार चाहिँ दोस्रो पक्षलाई हुन्छ । यस मामिलामा कसैले अतिशयोक्ति नमाने हुन्छ । चुनावी परिणामको चर्चा वा विश्लेषण गर्दा पनि कमसेकम आधारलाई मान्ने विश्वास, संगठनको संरचना, विगतको चुनावी नतिजा, वर्तमानमा उम्मेदवारप्रतिको चाहना, उसको प्रख्यातीलगायत थुप्रै तथ्यहरुलाई लिन सकिन्छ । तर अचेल त्यस्तो दृश्यपटल देखिँदैन् । असल राजनीतिक संस्कारभन्दा लाभ र अवसरलाई वैतरणी पार मान्ने राजनीतिक विश्लेषक, आफूलाई उच्चकोटीको विश्लेषक मान्ने मिडियाकर्मी र पत्रकारिताको भाँडो थापेर गोल्डेन शेयर माग्ने अन्डर वल्र्ड मार्का एन्ड कम्पनीले काठमाडौं महानगरको चुनावी चर्चा वा विश्लेषण गरेको देख्दा वास्तविकतासँग ठ्याम्मै मेल खाएको देखिँदैन् । देख्न पनि किन देखियोस् पूर्वाग्रह र आधारभूत तर्कभन्दा बाहिरको चर्चालाई गायत्री मन्त्र मान्ने र त्यसैलाई दिनचर्याका रुपमा अगाल्ने सिँगाने मिडियाकर्मीको चरित्र र हविगत उस्तै हो । काठमाडौंकोे विगतको चुनावमा पनि रञ्जु दर्शना र किशोर थापारुपी चरित्रलाई ती नै सिँगानेहरुले उचालेका हुन् । उचाल्नसम्म उचाले पछि मैदान छोडेर भागेको तथ्य कसैको अगाडि लुकेको वा छिपेको छैन ।

अब यसपटक पनि पुरानो भूत, परित्यक्त जमात यथार्थमा भन्नुपर्दा बारम्बार जनताद्वारा अस्वीकार गरिएका तर आफ्नो लालसा र अभीष्टलाई पूरा गर्न नसकेका हुति नभएका र सामथ्र्यहीनहरु नै तथाकथित राष्ट्रिय मिडियामा हावी भएका छन् । ती नै समूहहरुले उचालेका उम्मेदवारहरुको ऐनमौकामा बाह्र बजेको धेरै उदाहरणहरु छन् । बालेन साहरुपी उम्मेदवारको पनि कतै त्यही नियति त हुने होइन ? भन्ने जिज्ञासा सर्वत्र छ । यो प्रसंग त्यसै आएको होइन, विगतमा पनि दर्शना र थापालाई पाएमा राष्ट्रिय नपाएमा अन्तर्राष्ट्रिय भद्र व्यक्तित्व बनाउने अनाहक कुचेष्ठा गरिएको थियो । आखिरमा दर्शना र थापा यसरी थन्किए की राजनीतिक मैदानबाट अलपसमेत हुन पुग्यो । दर्शना र थापा त अलप भए नै तर तिनका अतृप्त, काँचो वायु फेरि सक्रिय भएका छन् । संगठन गर्न कति गाह्रो छ भन्ने हिजो बीबीसीको फोकटिया माइक्रोफोन पाएर नेपाली नेताहरुको हुर्मत निकाल्ने गरेका विवेकशील, साझा पार्टीका रवीन्द्र मिश्रलाई सोधेमा सिँगाने जमातका लागि काफी हुनेछ । स्थानीय चुनावमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय मुद्दाको प्रभाव कमै हुन्छ । स्थानीय चुनाव स्थानीय जनताको आवश्यकता र चाहनाको परिपूर्ति गर्न लडिन्छ । विगतमा पनि यही देखिएको छ । यसपटकको चुनावमा पनि विगत कै विजयी व्यक्तिहरु दोहोरिएर चुनावी मैदान किन ओर्लिए त भन्दा गुणवत्ताको मूल्यांकन उच्च भएकाले नै उनीहरु पुनः जन अनुमोदित हुन चाहेका हुन् । शाश्वत पक्ष पनि यही हो ।

काठमाडौं महानगरमा संगठनको आधारमा विश्लेषण गर्ने हो भने मुख्य प्रतिपस्र्धा सिर्जना सिंह र केशव स्थापितबीच हुने हो । उनीहरुले संगठनका लागि विगतमा धेरै हरकत गरेका छन् । त्यसैले वडा वडामा एकाइ समितिहरु छन् । चुनाव लहडपनले जितिने होइन, संगठनको आधार र नगरवासीलाई विश्वासमा लिन सक्ने आधार प्रस्तुत गर्न सके मात्र गम्भीरतम उम्मेदवारको रुपमा गणना हुने हो । काठमाडौं महानगरको अवस्था, दशा र दिशालाई दृष्टिगत गर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले नै दुई शक्तिशाली पार्टी हुन् । दुई शक्तिशाली पार्टीका दुई उम्मेदवारमध्ये एकको चर्चा गर्ने हो भने केशव स्थापित छुच्चो प्रवृत्तिका देखिएका छन् । सिर्जना सिंह काठमाडौंका लागि नितान्त नयाँ र नौलो उम्मेदवार हुन् । उनको शालीन र भद्रपनलाई कसैले पनि प्रश्न उठाएको देखिएको छैन यो कुरा दावीका साथ भन्न सकिन्छ । महानगरको चुनावमा अमेरिका र भारतको विगतको असान्दर्भिक र अप्रासांगिक राजनीतिक घटनाक्रमलाई जोडेर रंगीन उदाहरण प्रस्तुत गरेर आफ्नो दुनो सोझ्याउन चुनावी विश्लेषण र चर्चा लेख्ने सिँगानेहरुलाई के भन्ने ? लाजमर्दो अवस्था छ ।

भोलि चुनावको अवस्था र मत परिणाम के हुने हो भनेर सबै प्रतीक्षारत् छन् । यो प्रतीक्षाको घडीमा कहीँ कतै बालेनको बाह्र बज्ने र स्थापित स्थापत्य हुने त होइन भन्ने डर काठमाडौं महानगरवासी छ । यस्तो परिस्थितिमा सिर्जनाको संकल्प, व्यवस्थित महानगरको सपना सिर्जनात्मक रुपमा परिवर्तन हुने त होइन भन्ने अड्कल र अनुमान पक्कै पनि सत्यताको नजिक देखिन्छ । काठमाडौं महानगरको प्रमुखमा धरातलमा टेकेकी सिर्जना सिंह विजयोन्मुख उम्मेदवार भएको तर्क र दलील नयाँ काठमाडौं र पुरानो काठमाडौंका चोकचोक, घरघर र गल्लीगल्छेडो सुनिन थालेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?