मुस्ताङको नामग्याल गुम्बा बिद्यालयलाई भारतको अनुदान सहयोग


काठमाडौं (असन बजार पत्रिका):  भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ्ग गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको आज उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उक्त विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरियो ।


‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु २ करोड ६३ लाखको लागतमा यस स्तरोन्नत संरचनाको निर्माण भएको हो । जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।
भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस परियोजनाको कार्यान्वयनले नेपालमा सामाजिक एवम् सांस्कृतिक पूर्वाधारको विकास र जनता जनताबीचको सम्बन्ध सुदृढ बनाउन भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?