‘वार्ताबाट सीमा समस्या समाधान गर्न भारत र चीन सक्षम छन्’


बेइजिङ, २७ जेठ  : चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ । भारत भ्रमणमा आएका एजना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले उक्त प्रतिक्रिया दिएको हो ।
वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घीउ’ थप्ने खालको भएको बताएको छ । भारतको चारदिने भ्रमणमा रहेका अमेरिकी सेनाका प्यासिफिक कमाण्डिङ जनरल चाल्र्स ए फ्लिनले गरेको टिप्पणीपछि चीनको उक्त प्रतिक्रिया सार्वजनिक भएको हो ।
भारतका पत्रकारहरूसँगको कुराकानीमा फ्लिनले लद्दाख क्षेत्रमा चीनले निर्माण गरेका पूर्वाधार डरलाग्दा एवम् विष्मयकारी भनेका थिए । केही अमेरिकी अधिकारीले चीन र भारतबीच फाटो ल्याउन खोजेको, आफूहरूमाथि औँला उठाएर अपमान गरेको बताउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिकाले योगदान गर्ने विश्वास व्यक्त गरे । यसैबीच, भारतीय विदेश मन्त्रालयले पनि पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ पक्षले पूर्वाधार निर्माण गरेको घटनालाई ध्यानपूर्वक निगरानी गरिरहेको बताएको छ । (रासस/ एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?