भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो


नयाँ दिल्ली, २ असार  ।  भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए ।
भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१३ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।
कोरोना भाइरस निको भएको यो दर ९८.६५ प्रतिशत रहेको छ । कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसमम भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।  (रासस÷एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?