पशुपतिमा मनाइयो त्रिशूल जात्रा


काठमाडौँ,  ८  असार  ः  पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउन मनाउने विश्वास गरिने त्रिशूल जात्रा दुई वर्षपछि सिफल चौरमा सम्पन्न गरिएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ मा रोकिएको जात्रा यस वर्ष भने विधिपूर्वक मनाइएको पशुपति क्षेत्र विकास कोष धर्म संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाई छ । स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बने । राक्षसले पशुपतिबाट बालक लैजाने नियमितता नै बनेपछि भुवनेश्वरीका पुजारी भूमि आचाजुका छोरा नै लगे ।
आचाजुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए । नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशूल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको भनाई रही आएको छ । आचाजुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशूल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशूलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाई पशुपति क्षेत्रका संस्कृति विद् मुकुन्दराज वैद्य बताउनुहुन्छ । सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किम्बदन्ती यस क्षेत्रमा चलेको छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुरक्षित हुने विश्वास गरिन्छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?