दुर्गममा अत्याधुनिक रङ्गशाला निर्माणको योजना


राँझा: बाँके जिल्लाको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकाले अत्याधुनिक रङ्गशाला निर्माणका लागि तयारी गरेको छ । वडा नं ४को राप्तीपारीस्थित पाँच बिघा जमिनमा बहुखेललाई लक्ष गरेर रङ्गशाला निर्माणको काम अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताउनुभयो ।उहाँका अनुसार बहुद्देश्यीय रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने छ । युवा तथा खेलकुद मन्त्रालयले रु पाँच करोड बजेट विनियोजन गरेपछि रङ्गशाला निर्माणको काम अगाडि बढाइएको हो । पहिलो चरणमा रङ्गशालाले ओगट्ने जमिनमा माटो पटान र पर्खाल लगाउने काम सुरु हुँदैछ ।

रङ्गशालामा आधुनिक क्रिकेट मैदान, स्विमिङ पुल, लङ टेनिस कोर्ट, बाँस्केटबल कोर्ट र भलिबल कोर्ट निर्माण गरिने छ । अतिविशिष्ट, विशिष्ट र सर्वसाधारणका लागि प्यारापिटसहितको मैदान बनाइने अध्यक्ष शाहको भनाइ थियो । सरकारको एक स्थानीय तह एक रङ्गशाला निर्माण गर्ने योजनाअनुसार रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताउनुभयो ।

उहाँले रङ्गशाला जाने सडकका लागि गाउँपालिकाले बजेट विनियोजन गरेकाले आर्थिक वर्ष २०७९–८० मा सडक कालोपत्र र रङ्गशाला निर्माण सँगसँगै अगाडि बढाउने जानकारी दिनुभयो । उहाँका अनुसार रङ्गशालाको डिपिआर अनुसार सम्पूर्ण निर्माण पूरा गर्न रु एक अर्ब आठ करोड ५४ लाख लाग्ने अनुमान गरिएको छ । केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माणको काम गर्दै जाने योजना छ । निर्माणको काम सुरु गर्न केन्द्र सरकारले बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारले हरेक वर्ष बजेट थप्दै जाने आश्वासन दिएकाले एक वर्षभित्र सडक र फिल्डको काम सम्पन्न गर्ने लक्ष लिइएको छ । डिपिआरअनुसार निर्माण पूरा भए यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो रङ्गशाला हुने प्रमुख प्रशासकीय अधिकृत बस्नेतको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?