नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि


काठमाडौं,  २  साउन  : नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो दिन झिनो अङ्कले बढेको नेप्से परिसूचक सोमबार १८.०३ अङ्कले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.८३ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स १.१६ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स भने १.१५ अङ्कले बढेको छ । कारोबारमा आएका २ सय ११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर एक अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।

 

नेप्से बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आइतबार एक अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरको खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, लगानी, जलविद्युत् र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार र मेन्युल फन्ड उपसमूहको परिसूचक घटेको छ ।

 

नेप्से बढेसँगै वरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा नौ करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेर शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ भने एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । (असनबजार पत्रिका)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?