सर्वोच्चबाट मुद्दा हारेका एआइजी पोखरेल राजीनामा दिए


काठमाडौं,  २  साउन   :  नेपाल प्रहरीमा आफूलाई महानिरीक्षक नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट हालेका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले आफ्नो पदबाट सोमबार राजीनामा दिएका छन् ।

 

प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पोखरेलले राजीनामा पत्र बुझाएको प्रहरी केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । प्रवक्ता राईले एआइजी पोखरेलको राजीनामा पत्र कानुनबमोजिम आवश्यक प्रक्रियाका लागि गृहमन्त्रालय पठाउने र राजीनामाको अन्तिम किनारा मन्त्रिपरिषद्ले गर्ने पनि बताए ।

 

प्रहरी महानिरीक्षक पदमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले २०७९ वैशाख १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेको र गत असार ३१ गते सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा सिंहलाई नै निरन्तरता दिने आदेश दिएर पोखरेलको रिट निवेदन खारेज गरेपछि अप्ठेरोमा परेका पोखरेरले एआइजीबाट सेवालाई निरन्तरता दिनुभन्दा राजीनामा गर्नु श्रेष्ठ ठानेर उनले पदबाट राजीनामा गरेको पोखरेलनिकटहरु बताउँछन् । (असनबजार पत्रिका)

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?