राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक दसानायकेले राजीनामा दिए


काठमाडौं,  ४  साउन  : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दसानायकेले प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका हुन् । नेपाली टोलीको प्रशिक्षकका लागि गत मंसिरमा मात्र पुवुदुले दुई वर्षे कार्यकालका लागि सम्झौता गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए पनि पुवुदुको पछिल्लो प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले खराब प्रदर्शन गरेपछि उनको आलोचना भइरहेको थियो । उनले एक साताअघि नै नेपाल क्रिकेट संघ (क्यान) लाई इमेलमार्फत राजीनामा बुझाएको जानकारी समेत दिए ।

श्रीलङ्काली मूलका क्यानेडियन प्रशिक्षक पुवुदुले राजीनामाको विषयलाई आफ्नो जीवनकै कठिन निर्णय भएको पनि बताए । उनले भावुक हुँदै पत्रकार माझ भने, ‘यो निर्णय गर्न मलाई साह्रै कठिन रह्यो । मैले व्यक्तिगत कारणले राजीनामा दिएको हो । बेलैमा निर्णय नगर्दा पछि पछुताउनुपर्छ भन्ने लाग्यो ।’

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिदेशीय क्रिकेट सिरिज खेलेर नेपाली टोली मङ्गलबार मात्र स्वदेश फर्किएको थियो । कमजोर ब्याटिङका कारण पछिल्लो समय नेपाली क्रिकेटले सोचेअनुरुप नतिजा निकाल्न सकेको छैन । स्कटल्यान्डमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । पुवुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक थिए । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?