आदिवासी महिला मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित


काठमाडौं,  ५  साउन  :  आदिवासी महिला द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । सत्तारूढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले मतभारका आधारमा ५ सय ४० र विपक्षी दलका यसवन्त सिन्हाले दुई सय ८ मत प्राप्त गरेका छन् ।

 

जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविंदको कार्यकाल समाप्त भएपछि नवनिर्वाचित मुर्मूले जुलाई २५ तारिखदेखि राष्ट्रपतिको पदभार सम्हाल्ने छिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छन् । उनको सन् १९५८ को जुन २० मा ओडिसाको मयूरभन्ज जिल्लाको उपरबेडा गाउँमा जन्म भएको थियो ।
उनले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं राज्यप्रमुख (गभर्नर) को रूपमा काम गरेकी छन् ।

 

मुर्मूको विवाह बैंकर श्यामशरण मुर्मूसँग भएको थियो । श्यामशरणको सन् २०१४ मा मृत्यु भएको थियो । मुर्मूको दुई छोरा र एक छोरीको जन्म भएको थियो । चार वर्षको अवधिमा श्रीमान् र दुई छोराको मृत्यु भएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि मुर्मूले विद्यालय शिक्षकको रूपमा काम शुरु गरेकी थिइन् । श्री अरविन्दो इन्टिग्रल एजुकेसन एन्ड रिसर्च इन्स्टिच्यूट, रायरङपुरमा सहायक प्राध्यापक र ओडिसा सरकारको सिँचाई विभागमा सहायकको रूपमासमेत उनीले काम गरिसकेकी छन् ।

 

मुर्मू १९९७ मा भारतीय जनता पार्टी (बीजेपी) मा संलग्न भएर रायरंगपुर नगर पञ्चायतको पार्षद् निर्वाचित हुँदै सन् २००० मा अध्यक्ष भएकी थिइन् । उनले अल्पसंख्यक जनजातिहरूको मोर्चामा राष्ट्रिय उपाध्यक्षको रूपमा पनि काम गरेकी थिइन् । उनी उडिसा राज्यमा दुईपटक मन्त्रीको रूपमा जिम्मेवारीमा रहेकी थिइन् । (विभिन्न भारतीय सञ्चारमाध्यमको सूचनाको आधारमा । (असनबजार पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?